कालीमाटीमा माघे संक्रान्ति लक्षित तरुल बजार, एक महिनामै भित्रियो ७०० टन

जितेन्द्र खनाल

काठमाडौं, २७ पुस । कालीमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक ६ सय ९८ टन तरुल भित्रिएको छ । अघिल्लो वर्ष यसै समयमा १२ सय ६ टन तरुल काठमाडौं भित्रिएको थियो । माघे संक्रान्ति आउन अझै २/३ दिन बाँकी रहेकोले या संख्या अझै बढ्नेछ ।

कालीमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।

६ सय ९८ टन तरुल भित्रियो

माघे संक्रान्ति नजिकिदैँ गर्दै बजारमा तरुलको माग पनि बढ्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप निर्देशक तथा सूचना अधिकृत विनय श्रेष्ठका अनुसार हालसम्म ६ सय ९८ टन तरुल कालिमाटी भित्रिएको हो ।

‘तरुल धेरै आउने भनेको पुस महिनामा नै हो, यो वर्ष माघे संक्रान्ति लक्षित तरुल ६९८ टन कालीमाटी भित्रि सकेको छ’ उनले क्लाउड पत्रिकासँग भने, ‘ अझै २/३ दिन बाँकी नै छ त्यसकारण लगभग एक हजार टन भन्दा धेरै तरुल माघे संक्रान्ति लक्षित भएर भित्रने अनुमान गरिएको छ ।’

सर्लाहीबाट मात्रै आउँछ आधा भन्दा धेरै

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभरका विभिन्न २० जिल्लाबाट तरुल आएको छ । जसमा सबैभन्दा धरै सर्लाहीबाट आएको छ ।

उक्त समयमा सर्लाहीबाट ४ सय १० टन तरुल कालीमाटी भित्रिएको तथ्यांकले देखाउछ ।

‘हालसम्म सबैभन्दा धेरै तरुल सर्लाही जिल्लाबाट आएको छ’ सूचना अधिकारी श्रेष्ठले भने, ‘चाल् आर्थिक वर्षमा सर्लाहीबाट मात्रै ४ सय १० टन तरुल काठमाडौं आईसकेको छ ।’

यसका साथै, सुनसरीबाट १३५ टन, घादिङ्गबाट ८६ टन र नवलपरासीबाट ४१ टन तरुल आएको छ भने अन्य जिल्लाहरुबाट पनि राम्रै परिमाणमा तरुल भित्रिएको छ । चालु आर्थिक वर्षमा भारतबाट मात्रै ३७ टन तरुल कालीमाटी भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here