शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा

काठमाडौं, २९ पुस । नयाँ रेकर्ड बनाउँदै गएको शेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले बुधबार त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २२८६ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि हिजो नेप्सेले इतिहासकै उच्च २२६७ विन्दु पार गरेको थियो ।

बुधबार सेयर बजार मापक सूचक नेप्से १८.८१ अंकले बढेर २२८६.५४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २०७ कम्पनीको ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये बैकिङ र होटेल समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २४२.५२ अंकले बढेको छ भने होटल समूह ५.३९ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल टेलिकमको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा पुनर्बीमा कम्पनी २० करोड र अपर तामाकोशी १८ करोडसहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी विकास बैंक, गोर्खा फाइनान्स, गणपति माइक्रोफाइनान्स र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here