सरकारको चालू खर्च भन्दा राजस्व संकलन बढी

काठमाडौं १३, जेठ । सरकारले पुँजीगत खर्च अपेक्षित रुपमा बढाउन नसकेपनि चालू खर्च राजस्व भन्दा कम छ ।

सरकारी तथ्यांक अनुसार जेठ ४ गतेसम्म चालू खर्च ५ खर्ब ३७ अर्ब रुपैयाँ छ । सोही अवधिमा ५ खर्ब ६६ अर्ब रुपैयाँ कुल राजस्व संकलन भएको छ ।

राजस्वले चालू खर्च पनि धान्न नसकेकाले मुलुक आर्थिक संकटतर्फ उन्नमुख रहेको आरोप लागिरहेको बेला यस्तो तथ्यांक सार्वजनिक भएको हो । राजस्व संकलन चालू खर्च भन्दा बढी हुनु अर्थतन्त्रका लागि राम्रो भएको अर्थविदहरुले बताएका छन् ।

हाल राजस्वले नै चालू खर्च धान्दै आएकाले अर्थतन्त्र नराम्रो अवस्थामा छ भनेर विश्लेषण गर्न नहुने उनीहरुको भनाइ छ ।

जेठ पहिलो सातासम्म मुलुकको पुँजीगत खर्च १ खर्ब ३१ अर्ब रुपैयाँ मात्र छ । सोही अवधिमा कुल सरकारी खर्च ७ खर्ब २३ अर्ब रुपैयाँ छ । यो वर्ष सरकारको कुल खर्च गत वर्ष भन्दा कम हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको नौ महिनासम्म समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५ खर्ब ९६ अर्ब ६२ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ६ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

यो वर्षको नौ महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति १७ अर्ब २९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँले घाटामा थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) ६ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ छ । गत वर्षको तुलनामा यो १९.५ प्रतिशतको वृद्धि हो ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व २०.८ प्रतिशतले बढेको थियो ।

यस्तै, चैत मसान्तसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ४४ अर्ब ९२ करोड (स्थानीय तहको खातामा रहेको रु.५१ अर्ब ४७ करोड समेत) नगद मौज्दात रहेको सरकारी तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here