१० महिनापछि काठमाडौं उपत्यकामा सबै विद्यालय खुल्यो, मास्क अनिवार्य

काठमाडौं, ४ माघ । काठमाडौं उपत्यकाका विद्यालय १० महिनापछि आइतबारदेखि खुल्दैछन्। स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि आजबाट उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन्।

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिक सत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालन गरेका हुन् ।

अनलाइन तथा रेडियोरटेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि गत वर्ष चैतको पहिलो सातादेखि देशैभरीका विद्यालय बन्द भएका थिए। काठमाडौं उपत्यका बाहिरका प्रायः सबै विद्यालय यसअघि नै सञ्चालनमा आएका भएपनि राजधानीका विद्यालय भने अझै पूर्णरुपमा सञ्चालनमा आएका थिएनन्।

केही विद्यालयले भने असोजदेखि नै कक्षा सञ्चानल गरेका थिए। धेरैजसो विद्यालय भने अझै बन्द थिए। अनलाइन कक्षा सञ्चालन गर्दै गर्दै आएका विद्यालय पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आजदेखि प्रत्यक्ष रुपमा सञ्चालनमा आउन लागेका काठमाडौं महानगरपालिकाले जनाएको छ।

कतिपय विद्यालयले कक्षामा भौतिक दुरी कायम गरी आधा विद्यार्थी राखेर पढाउने तयारी गरेका छन्। काठमाडौं उपत्यकाका स्थानीय तहले पठनपाठनका क्रममा शिक्षक र विद्यार्थीलाई अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएका छन्।

काठमाडौंमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here