कुलमानले गरे भारतीय ठेकेदारको ३५ करोड जफत, १८ करोड जरिवाना पनि तिराइने

काठमाडौं, १३ जेठ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डमा सन्तोषजनक काम नभए पछि नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइकम टेलसँगको ठेक्का तोडेको छ ।

ठेक्का तोडिएसँगै कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर (करीब ३५ करोड रुपैयाँ) जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरेवापत करिब १६ लाख डलर (१८ करोड रुपैयाँ) बिलम्व जरिवाना पनि असुल गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँगको ठेक्का पनि तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजीलाई कालो सूचीमा राख्ने निर्णय गरिसकेको छ ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौँडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारेर ठेक्का सम्झौताको उल्लंघन गरेकाले सम्झौता तोडिएको बताए ।

‘काममा सुधार गर्न पटक–पटक निर्देशन दिएका थियौं तर, ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, पत्राचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरेर सम्झौता उल्लंघन गरिरह्यो’, घिसिङले भने ।

कम्पनीको काम सुरुबाटै सन्तोषजनक नभएकाले ठेक्का तोडिएको बताउँदै उनले नयाँ ठेक्कापट्टाको प्रक्रिया अन्तिम चरणमा भएको समेत जानकारी दिए ।

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौंडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि २०६५ फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने २ सय २६ टावरमध्ये १ सय ६८ को जग हालिएको छ भने १ सय १९ वटा निर्माण गरिएको छ ।

आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनीयाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।

यो खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको र १०१ वटा खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माणको काम २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

घिसिङले ठेकेदार कम्पनीका आयोजना प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणका तर्फबाट गर्नु पर्ने रुख कटान तथा निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले महत्वपूर्ण आयोजनाको कामलाई तीब्रता दिन श्रमिकको संख्या थप्न पनि निर्देशन दिए ।

पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here