प्रतिनिधि सभा विघटन मुद्दा : संवैधानिक इजलासमा बहसका लागि समय तोकियो

काठमाडौं, ७ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ ।

सुनुवाइको चौथो दिन बुधबारको सुनुवाइ प्रारम्भ भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समय निर्धारण गरेका हुन्। उनले बहसका लागि तयार रहेका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टामा बहस सक्न भनेका हुन्।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गरेका थिए । यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो ।

बहस गर्दागर्दै समय लामो लागेर संसद विघटन गलत भए पनि निर्वाचनमा मुलुक गइसकेकाले रोक्न परेन भन्ने अवस्था नआओस् भनेर इजलासले सचेत गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here