भारतले दिएको १० लाख डोज कोरोना खोप हस्तान्तरण, ओलीले दिए मोदीलाई धन्यवाद

काठमाडौं, ८ माघ । भारत सरकारले नेपाललाई उपलब्ध गरेको कोरोना खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ।

भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेसँगै बालुवाटारमा एक समारोहबीच उक्त खोप भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।

भारतले जनवरी १९ का दिन नेपाललाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको थियो। सोही घोषणाअनुसार भारतले कोरोना खोपको १० लाख डोज आज काठमाडौं पठाएको थियो। तिनै खोप आजै प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

ओलीले संकटको घडीमा भारत सरकारले कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराएकोमा धन्यवाद दिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले भारतबाट १० लाख डोज खोप उपलब्ध गरिएकोमा भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका हुन् ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड नामको खोप नेपाल ल्याइएको हो । यो खोपलाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट प्राप्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लगाइने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here