ड्राइभिङ लाइसेन्समा विचौलियाको बिगबिगी अन्त्य गर्न नयाँ व्यवस्था

काठमाडौं, १२ माघ । यातायात व्यवस्था विभागले सवारी चालकको अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि एउटा डिभाइसबाट एक पटकमात्रै आवेदन दिन पाइने व्यवस्था गरेको छ ।

अनलाइन आवेदनमा विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले नयाँ व्यवस्था ल्याएको हो । विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको जनाएको छ ।

एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन मिल्नेछ । यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।

विभागले सवारी साधन चालक अनुमतिपत्रको अनलाइन आवेदनमा लागू भएको निश्चित कोटा प्रणाली शुक्रबारदेखि हटाएको थियो ।

विभागलाई विचौलियालाइ पोस्नेगरी कोटा सिस्टम राखेर समयको पनि सिमा तोकिएको आरोप लाग्दै आएको थियो ।

लामो समयपछि खुलेको सवारी लाइसेन्स परीक्षका लागि सर्वसाधारणले अनलाइन आवेदन दिन प्रयास गर्दा विभागको वेवसाइटमा सबमिट नहुने, ‘इरर’ आउने लगायतका विभिन्न समस्या देखिने गरेका थिए ।

विभागले कोरोना भाइरसको महामारीसँगै लागु गरिएको लकडाउनका कारण करिव १० महिनापछि लाइसेन्सको अनलाइन आवेदन लिन सुरु गरेपछि सर्भरमा नै चाप परिरहेको छ ।

शुक्रबार देखि कोटा प्रणाली हटेपछि सेवाग्राहीले सातै दिन २४सै घन्टा फारम भर्न सक्ने व्यास्था छ । कोरोना भाइरसको कारण विगत १० महिनादेखि रोकिएको अनलाइन फाराम कोटा तोकेर गएको पुस १४ गतेदेखि खुलेको थियो ।

आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here