नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, १३ माघ । नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ ।

४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबी सम्झौता भएसँगै प्रक्रिया अगाडि बढेको हो ।

लगानी बोर्ड कार्यालयमा सम्पन्न एमओयुमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धकले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले दुई वटा परियोजना निर्माण गरिने छ। साथै दुबै ठाउँमा २० मेगावाटका दरले ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ।

परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ।

सम्झौता अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र बिस्तृत संभाब्यता अध्ययन प्रतिवेदन (डीएफएसआर) तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ।

२०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४औं बैठकले यो कम्पनीलाई डीएफएसआर तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो। यो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here