‘परिणाम देखिने गरी काम गर्छौं’- वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नयाँ नेतृत्वले परिणाम देखिने गरी काम गर्ने बताएका छन् ।

धादिङ्ग उद्योग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको नयाँ नेतृत्व युवा र केही गरौं भन्ने हुटहुटीसहितको भएको र परिणाम देखिने गरी काम हुने बताएका हुन् ।

‘नयाँ नेतृत्व आइसकेपछि नेतृत्वको पूर्णताका लागि अहिले विभिन्न विषयगत समितिहरु बन्ने क्रममा छन् । समितिहरुले पूर्णता पाएसँगै तपाई हामीले महशुस गर्ने गरी काम हुनेछन् । हामीले परिणाम देखिने गरी काम गर्नेछौं,’ ढकालले भने ।

जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उहाँले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताए ।

देशभित्रै रोजगारी सृजना गर्न र बढीभन्दा बढी राजश्व संकलनका लागि तीनतहको सरकारको तर्फबाट व्यवसाय र व्यवसायीलाई सहजीकरण गर्नुपर्ने बताउँदै उनले रोजगारी र राजश्वको पहिलो लाभग्राही स्थानीयतहहरु भएकोले स्थानीय तहले लगानीमैत्री वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताए ।

‘मुलुकभित्र रोजगारी सृजना गर्ने, राजश्व उठाउन सहयोग गर्ने जुनसुकै असल व्यवसायलाई सबै तहका सरकारहरुले सहजीकरण गर्नुपर्छ । यसको प्रत्यक्ष र पहिलो लाभग्राहीको हिसाबले पनि स्थानीय सरकारहरुको भूमिका अहम् रहन्छ,’ उनले भने ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहनुभएका ढकालले महासंघको तर्फबाट मात्र नभई एउटा बैंकको अध्यक्षको हैसियतमा पनि आफूले स्थानीय कृषकहरुलाई बिना धितो कर्जा प्रवाह गर्न आफूहरु तयार रहेको बताए ।

\हामीले बिना धितो कृषकहरुलाई कर्जा प्रवाह सुरु गरिसकेका छौं । धादिङ्ग त राजधानीसँग जोडिएको छ । हामीले दुरदराजका किसानहरुलाई सामुहिक जमानीमा कर्जा दिन सुरुगरिसकेका छौं । स्थानीय निकायको तर्फबाट सहजीकरण गरेमा धादिङ्गमा पनि बिना धितो साना किसानहरुलाई कर्जा उपलब्ध गराउन मैले सहयोग गर्नेछु,’ उनले भने ।

धादिङ्ग जिल्लाको तरकारी उत्पादनलाई भण्डारण गर्नका लागि कोण्डस्टोर बनाउन स्थानीय सरकार तथा व्यवसायीहरुले ५० प्रतिशत रकम जुटाएर आएमा महासंघको तर्फबाट बाँकी रकम जुटाउन आफूले पहल लिने प्रतिवद्धता जाहेर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here