काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान सम्पन्न बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।
बोर्डले यस वर्ष कक्षा १२ को लागि ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।
कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।
कक्षा ११ को प्राप्तांक नभएका र कक्षा १२ को आन्तरिक मुल्यांकनको अंक प्राप्त नभएका आंशिकतर्फ १ जनाको परीक्षा रद्द गरिनुका साथै ११ हजार ४९० जनाको परीक्षा भएको छ ।
एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट पनि नजिता हेर्न सकिन्छ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।