भारतले नेपाललाई दिने अनुदान बढायो, धेरै पाउनेमा भुटान

काठमाडौं, १९ माघ । भारतले नेपाललाई दिने अनुदान वृद्धि गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेकी २०२१/ २२ को बजेटमा नेपाललाई दिने वित्तिय अनुदान बढाएको घोषणा गरेकी हुन् । वृद्धि गरिएको अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारु रहेको छ ।

बजेटमा आगामी वर्षका लागि नेपाललाई दिने अनुदानका लागि ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरिएको छ ।

गतवर्ष भने अघिल्लो वर्षको तुलनामा नेपाललाई दिने अनुदानमा करिब आधाले नै घटाइएको थियो ।

भारतले सन् २०१९/२१ का लागि करिब १२ अर्ब भारु अनुदान दिएकोमा गत वर्ष अर्थात् सन् २०२०/२१ का लागि ८ अर्ब भारु मात्र विनियोजन गरेको थियो ।

पछि बजेटमा विनियोजितभन्दा थप ८० करोड भारु नेपाललाई दिइएको भारतको अर्थ मन्त्रालयको बजेट विवरणमा उल्लेख छ । भारत सरकारले विदेश मन्त्रालयमार्फत् नेपाललाई वित्तीय सहयोग गर्दै आएको छ ।

विगतका वर्षहरुमा जस्तै भारतबाट अनुदान पाउनेमा यसवर्ष पनि भुटान पहिलो नम्बरमा छ । भुटानका लागि ३० अर्बभन्दा बढी अनुदान दिइने जनाइएको छ ।

दोस्रो स्थानमा नेपाल रहेको छ । नेपाललाई ९ अर्ब ९२ करोड दिने घोषणा गरिएको छ । दुई देशबीचको सम्बन्ध सुधारोन्मुख दिशामा अगाडि बढिरहेको सन्दर्भमा भारतले बजेटमा गरेको वृद्धिलाई अर्थपूर्ण ठानिएको छ । अफगानिस्तानलाई ३ अर्ब ५० करोड दिने भएको छ ।

त्यस्तै बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई २ अर्ब,माल्दिभ्सलाई २ अर्ब ५० करोड र म्यानमारलाई ४ अर्ब दिने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here