डी मारिया भन्छन्ः मेस्सी पिएसजी आउने सम्भावना बलियो छ

काठमाडौं । अर्जेन्टिनी फुटबलर एन्जल डी मारियाले राष्ट्रिय टोलीका सहकर्मी लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) आउने सम्भावना धेरै भएको बताएका छन् ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिनै लाग्दा ३३ वर्षीय मेस्सीको क्याप नोउको बसाइको अन्तिम सिजन यही हुने दाबी गर्नेको संख्या धेरै छ । अघिल्लो समरमा बार्सिलोना छोड्ने धारणा सार्वजनिक गरेयता नै मेस्सी भित्र्याउने युरोपका शीर्ष क्लबहरूले योजना बनाइरहेको बताइन्छ ।

मेस्सी र बार्सिलोनाबीचको सम्झौता ३० जुनमा सकिँदैछ । यसै मौका छोप्दै सर्वाधिक छ पटकका बालोन डी‘ओर मेस्सी अनुबन्ध गर्न फ्रेन्च च्याम्पियन क्लब पिएसजी र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेको बताइन्छ ।

यस्तैमा पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनी फुटबलर डी मारियाले मेस्सी पिएसजी आउने सम्भावना बलियो रहेको बताएका छन् ।

‘मेस्सी पिएसजी आउने विषयमा म आशावादी छु’, हालै एक अन्तर्वार्ताका क्रममो उनले भने, ‘मेस्सी यहाँ आउने सम्भावना बलियो छ । हामी विश्वस्त छौँ र उनी लिग वानतिर आउने प्रतीक्षामा छौँ । उनी पेरिस आएमा पिएसजी अझ मजबुत हुनेमा म ढुक्क छु ।’

सन् २००४ यता बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले चार वटा च्याम्पियन्स लिग, दस वटा ला लिगा र छ पटक सुपर कपको उपाधि जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here