२ करोड ९ लाखको हातमा टेलिकमको सिम, डाटा प्रयोग गर्ने १ करोड ६४ लाख नाघ्यो

काठमाडौं । नेपालको दूरसञ्चार सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकमको सिम प्रयोगकर्ता २ करोड नाघेको छ ।

सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार मात्रै लिएर अघि बढेको टेलिकमको सिम चलाउनेको संख्या मंसिर मसन्तसम्ममा २ करोड ९ लाख पुगेको हो ।

सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ ।

कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको टेलिकमले १७औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ ।

एफटिटिएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डाटा र भ्वाइस उपलब्ध भइरहेकामा गत जनवरी १ तारिखमा एनटिटिभी ब्राण्डमा आइपिटिभी सेवाको सुभारम्भ भएपश्चात् भ्वाइस डाटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफलता भएको छ ।

कम्पनीको ग्राहक आधार आधारभूत सेवातर्फ २०७६ असार मसान्तमा करीब २ करोड २७ लाख (७६.९५५ टेली घनत्व) रहेको थियो भने करीब २० लाख निष्क्रिय ग्राहक सिष्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करीब २ करोड (६७.७६ टेली घनत्व) पुगे तापनि ग्राहक आधारमा क्रमिकरुपमा वृद्धि हुँदै २०७७ मङ्सिर मसान्तसम्म ग्राहक आधार २ करोड नौ लाख (६९.८५ टेलीघनत्व) पुगेको छ ।’

सोमध्ये जीएसएम मोबाइलका ग्राहक १ करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख ८ हजार र पीएसटीएन सेवाका ग्राहक ६ लाख १७ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार ३०० रहेका छन् । विसं २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३.६५ प्रतिशत रहेको छ ।

त्यसैगरी इन्टरनेट डाटा सेवातर्फ कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख ९ हजार ५०० भन्दा बढी पुगेको छ ।

सोमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता १ करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार ५००, एफटिटिएच डाटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५०० रहेका छन् । जीएसएम फोरतर्फ हालसम्म करीब २५ लाख ग्राहक पुगिसकेको छ ।

आव २०७६/७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा ९ अर्ब ७४ करोड भएको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्याएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैह्रकर गरी कम्पनीले ३३ अर्ब ३० करोड (कूल आयको ७५ प्रतिशत) रकम योगदान गरेको थियो भने यस आव २०७६/७७ मा ३५ अर्ब ५ करोड (कूल आयको ८१ प्रतिशत) योगदान गरेको छ ।

त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्य पहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र वाग्मतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here