तयारी चाउचाउ धेरै खाने बानी छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । तयारी चाउचाउ सबैभन्दा सजिलो र स्वादिलो खाजाको रुपमा विश्वभर लोकप्रिय छ । नेपालमा त झन पनि चाउचाउ पहिलो रोजाइको खाजाको रुपमा परिचित छ ।

विभिन्न स्वाद र ब्राण्डमा पसलहरुमा सजिलै पाइने चाउचाउ खान पनि धेरै सजिलो छ । पकाउन पनि समय नलाग्ने र काँचै पनि खान मिल्ने भएकाले बच्चा देखि बुढाबुढीसम्मले खाजाको रुपमा तयारी चाउचाउ रोज्ने गर्छन् ।

नेपालमै उत्पादित विभिन्न ब्राण्डका र भारत लगायत अन्य देशमा उत्पादित तयारी चाउचाउ समेत नेपालीहरुको भान्छामा पाक्ने गरेको छ । त्यस्तै अझै धेरैले त तयारी चाउचाउ काँचै खाने पनि गर्छन् ।

तयारी चाउचाउको ठूलो बजारको रुपमा चीन विश्वभरमा अग्रस्थानमा रहेको छ भने संयुक्त राज्य अमेरिका छैठौं स्थानमा रहेको छ । जहाँ, सन् २०२० मा मात्रै झण्डै ५ अर्ब प्याकेट बिक्री भएको थियो ।

चाउचाउ खान जति मिठो र सजिलो छ त्यति नै स्वास्थ्यको लागि हानीकारक मानिन्छ । अध्ययनहरुका अनुसार धेरै मात्रामा तयारी चाउचाउ खानाले हार्टअट्याक, उच्च रक्तचाप र क्यान्सर समेत हुनसक्छ ।

अमेरिकामा तयारी चाउचाउलाई रामेन नामले पनि चिनिन्छ । तर, खास जापानी रामेन भने फास्टफुड वा तयारी परिकार होइन । वास्तवमा परम्परागत जापानी परिकार रामेन एकप्रकारको चाउचाउको सुप हो जसलाई धेरै मेहनतसाथ तयार गरिन्छ ।

तयारी चाउचाउ बनाउने कम्पनीले सुरुमा त्यसलाई चिकेन रामेनको ब्रान्डमा बिक्रि गर्न थाल्यो । त्यसैले तयारी चाउचाउको नाम जापान बाहिर रामेन रहन गयो जबकी प्राविधिक रुपमा बजारमा पाइने तयारी चाउचाउ प्रख्यात जापानी परिकार रामेन होइनन् ।

चाउचाउका हानी यस्ता छन्ः

तयारी चाउचाउमा मिसाइने चीजहरु विषाक्त र क्यान्सर उत्पन्न गराउने खालका पनि हुन सक्छन् ।

यदि हामीले तयारी चाउचाउको प्याकेट पछाडि त्यसलाई बनाउन के के प्रयोग भएको रहेछ भनेर हेर्यौं भने पनि चाउचाउ कत्तिको स्वस्थकर खानेकुरा हो भन्ने प्रष्ट हुन्छ ।

तयारी चाउचाउमा फ्याट, क्यालोरी र नुनको मात्रा उच्च हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि राम्रो मानिँदैन ।

त्यस्तै तयारी चाउचाउमा टिबीएचक्यु नामक केमिकल प्रिजर्भेटिभ पाइन्छ जुन पेट्रोलियम उद्योगबाट आँउछ । यो यति धेरै हानीकारक हुन्छ कि यो क्यान्सरको स्रोत हुन सक्छ ।

चिल्लो खानेकुराहरु धेरै समयसम्म नब्रिग्रियोस भनेर यसको प्रयोग गरिन्छ । त्यसैले चाउचाउ मात्रै नभई अन्य तयारी खानेकुराहरुमा पनि यो पाइन सक्छ । धेरै हानीकारक हुने भएकाले खानेकुराहरुमा थोरै डोजमा मात्रै यसको प्रयोग गर्न दिइन्छ ।

त्यस्तै तयारी चाउचाउमा प्रयोग हुने अर्को हानीकारक तत्व मोनोसोडियम ग्लुटामेट अर्थात एमएसजी हो । यो रसायनलाई ‘एक्साइटोक्सिन’ भनिन्छ किनभने यसले हाम्रो स्नायूकोषहरुलाई उत्तेजित बनाउँछ ।

‘एक्सपेरिमेन्टल एण्ड क्लिनिकल साइन्सेस’को जर्नलमा उल्लेख भएअनुसार एमएसजी मोटोपना, मेटाबोलिक अनियमितता, प्रजनन् क्षमतामा हानीकारक प्रभाव आदी पार्न सक्छ ।

खानेकुराहरुलाई स्वादिलो बनाउन प्रयोग गरिने एमएसजीको अन्य धेरै नकरात्मक असरहरु पर्छ ।

तयारी चाउचाउको एउटा प्याकेट खाँदैमा तपाईं बिरामी नै हुनुहुन्छ भन्ने होइन तर, तपाईंले लामो समयसम्म खानाको लागि चाउचाउमा भर पर्नुभयो भने चैं समस्या निम्तन सक्छ ।

त्यस्तै ‘द जर्नल अफ न्युट्रिशन’मा प्रकाशित एक अध्ययनका अनुसार चाउचाउ धेरै खाएमा अन्य विभिन्न स्वास्थ्य समस्याहरु निम्तन सक्छन् । चाउचाउले विशेषगरी टाइप २ मधुमेह र मुटुसम्बन्धी रोगहरुको जोखिम बढाउँछ ।

तयारी चाउचाउ धेरै खानाले हर्टअट्याक र उच्च रक्तचापको समस्या समेत हुन सक्छ । त्यस्तै तयारी चाउचाउको अत्यधिक सेवनले हाम्रो पाचन प्रणालीमा समेत असर पर्न सक्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here