‘अख्तियारदेखि भ्रष्ट डराउने हो, टाउकोको माया छैन भनेर धम्की दिनेसँग नडराउनू’

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्ररुपमा काम गर्नुपर्ने बताउँदै सत्य, तथ्यका आधारमा निस्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले निष्पक्ष ढंगले काम गर्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए । उनले अख्तियारलाई दबाब र प्रभावमा पार्ने काम नगर्न पनि चेतावनी दिएका छन् ।

‘राज्यको ढुकुटी रित्याएर आफ्नो गोजी भर्न दिनु भएन, मानिसहरुको मनोवृत्ति भ्रष्टाचारी नहोस्’, उनले भने, ‘भ्रष्टाचार गर्ने अवसर नै मान्छेलाई दिनु भएन। त्यति गर्दा पनि भ्रष्टाचार गरेमा कानुनी कारवाही गर्ने निकाय छन।’

अख्तियार लाचार छायाँ होइन । सरकारबाट आयोगमाथि कुनै हस्तक्षेप हुँदैन । आफ्नो कर्तव्य निष्पक्ष ढंगले पूरा गर्नु । यसमा भनसुन, दबाब, टाउकाको माया छ कि छैन् भनेर धम्की दिने काम नगरे हुन्छ, त्रासबाट मुक्त भएर काम गर्नु । सुरक्षाको व्यवस्था सरकारले गर्छ’, उनले भने ।

प्रधानमन्त्री अ‍ोलीले निर्वाचनपछि अख्तियारको कानून पारित भएर आउने भएकाले काम गर्न थप सहज हुने बताएका छन् । उनले अख्तियारले विगत २० वर्षमा सकारात्मक योगदान पुर्याएको भन्दै अख्तियारले निर्दोष मानिसहरुलाई मुद्दा लगाएर दुःख दिन नहुने बताए ।

‘अख्तियारले निर्दोष मान्छेमाथि आरोप लगाउने र मुद्दा दायर गर्नु हुँदैन । त्यसो हुँदा काम गर्ने मानिसहरुलाई हतोसाही बनाउँछन्’, उनले भने, ‘अख्तियारले मुद्दा दायर गर्नुभन्दा अगाडि तथ्यहरुका आधारमा एकीन गरेर मात्र मुद्दा दर्ता गर्नुपर्छ । अख्तियारबाट दोषीहरु थर्कमान हुनुपर्छ । अख्तियारले कारबाही गर्न नसक्ने ठाउँ छैन् भनेर काम गर्नुपर्छ ।’

उनले कसैको धम्कीबाट नडराइ काम गर्न पनि अख्तियारका अधिकारी र कर्मचारीलाई आग्रह गरे। कसै कसैले टाउकोको माया छ कि छैन भनेर धम्की दिनुको कुनै अर्थ छैन, उनले भने, तपाईंहरु त्रासबाट मुक्त भएर काम गर्नुस्। समाजमा आपराधिक तत्व पनि हुन्छन्। उनीहरुलाई सरकारले कानुनी दायरामा ल्याउनेछ।

प्रधानमन्त्री ओलीले नेपालमा भ्रमष्टाचार कन्ट्रोल हुने दाबी गरे । उनले सञ्चारमाध्यमहरुले भ्रष्टाचारबारे सत्यतथ्य विषय बाहिर ल्याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सबेलाई भ्रष्टाचारीको आँखाले हेर्न नमिल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here