‘देश अस्थिरतातर्फ फर्काउने निर्णय अदालतले नलियोस्’

काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरेर ‘अस्थिरता तर्फ देश नफर्काउन’ अदालतमाथि दबाब सिर्जना गरेका छन्।

बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । उनले भने, ‘देशलाई अदालतले अस्थिरतातिर फर्काउने छैन भन्ने विश्वास छ ।’

आफूले लोकतान्त्रिक प्रक्रियाबाट संविधानसम्मत प्रतिनिधि सभा विघटन गरेको दाबी दोहोर्‍याएका छन्।

उनले भने, ‘मैले बहुमतको प्रधानमन्त्रीको हैसियतले संसद् विघटन गर्नुपर्‍यो। त्यो संविधानसम्मत छ। संविधानको धारा ७६ को उपधार १ अनुसारको सरकारको प्रधानमन्त्री भएकाले उपधारा ७ अनुसार विघटन गरेको हुँ।

त्यो धारा ८५ अनुसार संवैधानिक छ। प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर विघटन गरिएको हो।’

संसद पुनर्स्थापना भयो भने कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने उनले बताए । उनले अघि भने, ‘अब सोझै जनतामा जनादेशमा जानुपर्छ ।’

केपी ओलीले प्रचण्ड-माधव समूहतर्फ संकेत गर्दै कसको पक्षमा जनता छन् भन्ने मतदानबाट गनौंला भनेका छन् । आफ्नो पार्टीले प्रत्यक्षतर्फ बहुमत र समानुपातिकतर्फ ५० लाख मत ल्याउने दाबी गर्दै ओलीले भने, ‘त्यो घटाएर देखाए भयो नि ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here