७७ वटै जिल्लामा कोरोना विरुद्धको खोप लगाइँदै, को-को छन् प्राथमिकतामा ?

काठमाडौं, २ फागुन । कोरोना भाइसरविरुद्ध पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि शुरु हुँदैछ। यो अभियान फागुन ८ गतेसम्म देशका ७७ वटै जिल्लामा चल्ने छ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्लास्तरीय जनपद प्रहरी, सीमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र पत्रकारलाई खोप लगाइने छ ।

त्यसैगरी काठमाडौँबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले काठमाडौंका विभिन्न अस्पताल र मेडिकल कलेजसहित १२ स्थानमा खोप केन्द्र तोकेको छ ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रहरी अस्पताल लाजिम्पाट, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप सेवा लिन सकिनेछ ।