इन्फ्रास्ट्रक्चर बैंक ‘खर्बपति’ क्लबमा,५ दिनमै बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं, ६ फागुन । नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को सेयर मूल्यमा लगातार पाचौ दिन सकारात्मक सर्किट लागेको छ । बिहिबार नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

चौथो दिन (हिजो) सर्किट लागेर बैंकको अन्तिम कारोबार ४९७ मा भएको थियो । पाचौ दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ५२१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको सेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५४६ पुगेको छ ।

नेपाल इन्फ्रस्ट्रक्चर बैंकले नेपाली सेयर बजारमा सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गर्ने रेकर्ड बनाएको छ । यसैसाता आइतबारदेखि कारोबारमा आएको बैंकले ५ दिनमै बजार पूँजीकरण १ खर्ब बढी पुर्याएर नयाँ रेकर्ड बनाएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने इन्फ्रास्ट्रक्चर बैंक पहिलो हो । यसअघि नेपाल पुनर्बीमा कम्पनीको ५ महिनामा बजार पूँजीकरण १ खर्ब नाघेको थियो ।

नेप्सेमा कुल २० करोड कित्ता सेयर सूचीकृत भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ दिनमै २०५ रुपैयाँले बढेसँगै बजार पूँजीकरण १ खर्ब नाघेको हो ।नेप्सेका अनुसार बिहीबार बैंकको पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।

आइतबार प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको हरेक दिन सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्दै आएको छ अर्थात् सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकले १ महिना अघि ८ करोड रुपैयाँ बराबरको आइपी जारी गरेको थियो ।

इन्फ्रास्ट्रक्चर बैंक समग्रमा १ खर्ब बढी बजार पूँजीकरण हुने आठौं कम्पनी बनेको छ भने बैंकिङ क्षेत्रमा चौथो बैंक बनेको छ । हाल नेप्सेमा सूचीकृत २२५ बढी कम्पनीमध्ये बजार पूँजीकरण खर्बबढी हुने कम्पनीको संख्या ८ रहेको छ ।

नेप्सेमा खर्बपति कम्पनीको रुपमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, नबिल बैंक, एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो ।

बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ ।

त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । १२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here