के छ प्रधानमन्त्रीले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा ? (पूर्णपाठ)

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा अदालत पुगेर लिखित जवाफ पेश गरेका छन्।

बिहीबार प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेर सर्वोच्‍चमा लिखित जवाफ पेश गरेका हुन्।

अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो ।

‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित भएर उनले लिखित जवाफ पेश गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश गरेको उनले बताए ।

जवाफमा उनले आफूले न्यायालयप्रति कहिल्यै पनि यसो गर उसो गर नभनेको र अदालनप्रति आफू जहिल्यै आदरार्थी भाषाको प्रयोग र सम्मान गर्दै आएको उल्लेख गरे छन्।

‘मैले कुनै खास कानुन व्‍यवसायीको नाम लिएर न कुनै वक्तब्‍य दिएको छु नत कुनै कानुन व्‍यवसायीलाई बहस नगर्न न्याय सम्पादनमा अवरोध गरेको छुु लिखित जवाफमा भनिएको छ, ‘अदालतप्रति मैले जहिले पनि आदरार्थी भाषा प्रयोग गरेको छ।’

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सोही प्रकृतिको आदेशानुसार चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here