सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

काठमाडौं, २० फागुन । नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ ।

बिहीबार दुई पक्षीय सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार अब विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सम्पूर्ण राजनीतिक विषयहरुको समाधान वार्ताको माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा गर्ने र नेपाल सरकारबाट यो पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिने भएको छ । साथै यो पार्टीका कार्यकर्ताहरु माथि लागेका मुद्दाहरु खारेजी गर्ने तथा बन्दी कार्यकर्ता रिहा गर्ने विषयमा पनि सहमति भएको छ ।

दुई वार्ता टोलीबीचको सहमति यही फागुन २१ गते दिउँसो २ बजे सार्वजनिक गरिने पनि यी दुई टोलीबीच सहमति भएको छ ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने छन्। हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here