११ महिनामा ३३ अर्ब वैदेशिक लगानी नेपाल भित्रियो, आधाभन्दा धेरै पर्यटन क्षेत्रमा

जितेन्द्र खनाल

काठमाडौं, २३ फागुन । गएको ११ महिनामा ३३ अर्बभन्दा धेरै वैदेशिक लगानी नेपाल भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार ११ महिनामा ३३ अर्ब १९ करोड रुपैयाँको वैदेशिक लगानी नेपाल भित्रिएको हो ।

यस समयमा १ सय ७६ वटा वैदेशिक लगानीका उद्योगहरु दर्ता भएका छन् । जसमा ५ हजार ४ सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

यस विचका लगानीमा पर्यटन र सेवा क्षेत्रमा सबैभन्दा धेरै आर्कषण बढेको विभागको तथ्यांकले देखाउछ ।

पर्यटन र सेवा क्षेत्रमा आर्कषण बढ्यो

विभागको तथ्यांक अनुसार यस समयमा पर्यटन र सेवा क्षेत्रमा मात्रै १ सय ४८ वटा उद्योग दर्ता भएका छन् । जसमा पर्यटन क्षेत्रमा ९३ वटा र सेवामा ५५ वटा उद्योग रहेका छन् ।

कुल लगानीको आधाभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा मात्रै आएको छ । पर्यटन क्षेत्रमा ९३ वटा उद्योगमा १७ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरैको लगानी प्रतिवद्धता आएको छ । जसमा २ हजार ४ सय २१ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

त्यस्तै, सेवा क्षेत्रको ५५ वटा उद्योगमा ९ अर्ब ७० करोडको लगानी प्रतिवद्धता आएको छ । जसमा २ हजार ४ सय ३६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

जलविद्युतमा शुन्य

विभागको तथ्यांक अनुसार गएको ११ महिनामा जलविद्युतमा भने कुनै प्रकारको उद्यमोग दर्ता भएको छैन् । दर्ता भएको उद्योगमा १ देखाएपनि त्यसमा अन्य कुनैपनि विवरण उल्लेख भएको छैन् ।

विभागको तथ्यांक अनुसार यस विचमा निर्माण क्षेत्रमा १५ वटा उद्योग दर्ता भएको छ । जसमा २ अर्ब ६८ करोडको लगानी रहेको छ भने २ सय ३९ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

सूचना तथा प्रविधि सम्बन्धी १० उद्योग यस समयमा दर्ता भएको उद्योग विभागको तथ्यांकले देखाउछ । जसमा २ सय ९४ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने कुल लगानी ३ अर्ब १५ करोडको लगानी रहेको छ ।

११ महिनामा कृषी क्षेत्रमा जम्मा दुईवटा उद्योग दर्ता भएका छन् । जसमा १०३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने, कुल ३७ करोड ९ लाखको कुल लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here