आठ महिनामा १ खर्ब ९ अर्ब लगानीको उद्योग दर्ता, साढे ७ हजारले प्रत्यक्ष रोजगारी पाउने

जितेन्द्र खनाल

काठमाडौं, २६ फागुन । कोरोनाका कारण थलिएका उद्योग,कलकारखाना खुल्ने क्रममा रहेका बेला नयाँ उद्योग दर्ता हुने क्रम भने रोकिएको छैन ।

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको आठ महिनामा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव उद्योग क्षेत्रमा भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गएको आठ महिनामा औद्योगिक क्षेत्रमा १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव भएको हो ।

विभागको तथ्यांक अनुसार गएको आठ महिनामा १ सय २८ वटा उद्योग दर्ता भएका छन् । उक्त तथ्यांक अनुसार उत्पादनमुलक, सेवामूलक र पर्यटन क्षेत्रमा धेरै उद्योग दर्ता भएका छन् ।

उत्पादनमूलक क्षेत्रमा धेरै उद्योग

उद्योग विभागको तथ्यांक अनुसार गएको आठ महिनामा उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै उद्योग दर्ता भएका छन् । यस विचमा उत्पादनमूलक क्षेत्रमा मात्रै ३७ वटा उद्योग दर्ता भएका छन् ।

उत्पादनमूलक क्षेत्रको ३७ वटा उद्योगमा ८ अर्ब २८ करोड रुपैयाँ बारबरको लगानी रहेको विभागको तथ्यांकले देखाउछ ।

सबैभन्दा धेरै रोजगारी पैदा गर्ने क्षेत्रको रुपमा पनि उत्पादनमूलक क्षेत्र नै रहेको छ । उद्योग विभागको तथ्यांक अनुसार उत्पादनमूलक क्षेत्रका उद्योगले मात्रै २ हजार ४ सय ३ जनालाई रोजगारी दिनेछ ।

जलविद्युतमा धेरै लगानी

लगानीको हिसाबमा भने चालु आर्थिक वर्षमा जलविद्युतका उद्योगमा सबैभन्दा धेरै लगानी भएको छ । विभागको तथ्यांक अनुसार गएको आठ महिनामा २० वटा जलविद्युत उद्योगमा ८६ अर्ब ७७ करोडको लगानी प्रतिवद्धता आएको छ ।

साढे ७ हजारलाई रोजगारी

उद्योग विभागमा आठ महिनामा दर्ता भएका १ सय २८ वटा उद्योगमा ७ हजार ४ सय ६७ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

सबैभन्दा धेरैलाई रोजगारी दिने उद्योगमा उत्पादनमूलक क्षेत्रको उद्योग रहेको छ । उत्पादनमूलक क्षेत्रले २ हजार ४ सय ३ जनालाई प्रत्यक्ष रोजगारी दिनेछ ।

त्यस्तै, कृषी क्षेत्रको उद्योगमा १ हजार ५ सय ४० जना, सेवामूलक क्षेत्रको उद्योगमा १ हजार दुई सय ९३ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here