एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने सडक निर्माण शुभारम्भ, कूल लागत २ खर्ब

काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गरेका छन् ।

आइतबार प्रधानमन्त्री निबास बालुवाटामा आयोजित बिशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले एकैपटक २८३ वटा स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माणको शुभारम्भ गरेका हुन् ।

सडक सञ्‍जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी यसअघि नै भइसकेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम संघीय सरकारले यस वर्षका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रमको कूल लागत भने करिब २ खर्ब लाग्‍ने अनुमान गरिएको छ ।

आयोजना कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको कार्यविधिअनुसार १० किलोमिटरसम्मको सडक निर्माणका लागि संघीय सरकारले ६५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले २५ प्रतिशत योगदान गर्नेछन् ।

यस्तै १० किलोमिटरदेखि २० किलोमिटरसम्म लम्बाई भएका सडक निर्माणमा संघले ७० प्रतिशत, प्रदेशले १० प्रतिशत र स्थानीय तहले २० प्रतिशत योगदान गर्नेछन् । २० किलोमिटरभन्दा लामो सडक बनाउन संघीय सरकारले ७५ प्रतिशत, प्रदेश सरकारले १० प्रतिशत र स्थानीय तहले १५ प्रतिशत रकम साझेदारी गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here