काठमाडौं, २ चैत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो ।
अर्थ मन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न आग्रह गरेको हो ।
मन्त्रालयले नयाँ नयाँ भवन निर्माण र सवारी साधन खरीद गर्न बजेट नछुट्याउन र अनिवार्य सहभागी हुनुपर्नेबाहेक वैदेशिक भ्रमणमा बजेट नराख्न पनि भनेको छ ।
वैदेशिक सहायतामा संचालनमा रहेका आयोजना तथा कार्यक्रममा पर्याप्त बजेट राख्न भनिएको छ । त्यस्तै राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनामा पनि धेरै बजेट राख्न भनिएको छ ।
छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख तथा सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोहीअनुरुप योजना तर्जुमा गर्न आग्रह गरे ।
उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।
अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने सःसर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ ।
अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययीता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालनसम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।