सेवामूलक क्षेत्रमा वैदेशिक लगानी बढ्यो, २ हजारलाई रोजगारी

काठमाडौं, ३ चैत । सेवामूलक क्षेत्रमा वैदेशिक लगानी बढेको छ । उद्योग विभागको चालू आर्थिक वर्षको फागुन अन्तिमसम्मको तथ्यांक अनुसार सेवा क्षेत्रमा वैदेशिक लगानी बढेको देखिएको हो ।

विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ४६ वटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै २३ वटा रहेको छ ।

कुल ४६ उद्योगमा ६ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै ३ अर्ब ३५ करोडको लगानी प्रतिवद्धता रहेको छ ।

पर्यटन क्षेत्रमा २ अर्ब १५ करोड लगानी

पर्यटन क्षेत्रमा मात्रै २ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । यस विचमा पर्यटन क्षेत्रका १६ उद्योगमा लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै, सूचना तथा प्रशारण क्षेत्रमा ५ वटा र उत्पादनमूलक क्षेत्रमा २ वटा उद्योग दर्ता भएका छन् । जसमा क्रमश ६५ करोड र १० करोड लगानी प्रतिवद्धता रहेको छ ।

२ हजारलाई प्रत्यक्ष रोजगारी

विभागको तथ्यांक अनुसार वैदेशिक लगानीमा दर्ता भएका उद्योगमा १ हजार ९ सय ८४ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रको उद्योगले रोजगारी सिर्जना गर्नेछ ।

सेवामूलक क्षेत्रको उद्योगमा मात्रै १ हजार २ सय ३० जनाले रोजगारी पाउनेछन् । त्यस्तै, पर्यटन क्षेत्रको उद्योगमा ४ सय ७१ जना, सूचना तथा प्रविधिको उद्योगमा २ सय ४० जना र उत्पादनमूलक क्षेत्रमा ४३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here