शोक प्रस्ताव पारित गर्नमै सिमित प्रतिनिधि सभाको बैठक, ७ अध्यादेश अलपत्र

फाइलफोटो

काठमाडौं, ३ चैत । पुनःस्थापित प्रतिनिधि सभाको आजको वैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै मंगलबारको वैठक स्थगित भएको हो ।

अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

सरकारले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश–२०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७७, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७७, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश–२०७७ लगायत अध्यादेश संसदमा टेबल गर्न बाँकी छ ।

पहिलो दिन पेस नभएको अध्यादेश पुनः पेस गर्न सरकार पनि पछि हटेको छ । यस्ता अध्यादेश संसद् बैठक बसेको पहिलो दिन पेस गर्नुपर्ने संविधानको धारा ११४ मा उल्लेख छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९३ मा अध्यादेश अधिवेशनको पहिलो बैठकमा पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।

सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित संसदको यो तेस्रो पटक बस्ने बैठक हो ।

सर्वोच्च अदालतबाट विघटन बदर भएपछि सुरु भएको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव गर्नमै सीमित हुन पुगेको छ । फागुन २३ र २६ मा बसेका दुई बैठकमा कुनै पनि एजेन्डामा छलफल हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here