सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र अलमलमा

काठमाडौं, १९ चैत । नेकपा माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फर्ताबारे अझै अलमलमा रहेको छ ।

बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कुनै निर्णयमा नपुगेको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने उनले बताए । ‘यो सरकारलाई हाम्रो समर्थन छैन् । प्राविधिक रुपमा यो सरकारलाई पत्र लेख्न मात्रै बाँकी रहेको छ । सबै राजनीतिक पार्टीहरुलाई हामीले प्रष्टसँग कुरा राख्न भनिरहेका छौं’, उनले भने ।

उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने छुट सबै राजनीतिक दलहरुलाई रहेकोसमेत स्पष्ट पारेका छन् । कांग्रेस र जसपाले भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि निर्णयमा पुग्ने बताउँदै आएका छन् ।

‘हाम्रो निर्णय पर्खने भन्दा पनि आफ्नै दृष्टिकोण राख्ने र अविश्वासको प्रस्ताव राख्ने गम्भीर अपिल गर्न कांग्रेस र जसपासँग अपिल गर्छु,’ श्रेष्ठले भने ।

बुधवार प्रतिनिधि सभा बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले सरकारमा सहभागी दल विभाजन भएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दाबी गर्दै चैत २३ पछिको स्थितिबारे प्रश्न गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here