कर्मचारीलाई साताको दुई दिन बिदा प्रस्ताव

काठमाडौं, २२ जेठ
कर्मचारीलाई हप्ताको दुई दिन बिदा दिने प्रस्ताव संसदमा पुगेको छ ।

संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा कर्मचारीलाई साताको दुई दिन बिदाको प्रस्ताव गरिएको हो ।

कांग्रेस सांसद गगन थापाले निजामती कर्मचारीलाई शनिबार र आइतबार बिदा दिने प्रस्ताव गरेका हुन् ।

तर, त्यसका लागि हप्तामा ४० घन्टा काम गर्नुपर्ने व्यवस्था हुनुपर्ने पनि उनले दर्ता गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।

थापाले विधेयकको दफा ११५ को उपदफा ३ थप गरी ‘निजामती कर्मचारीका लागि साप्ताहिक रूपमा ४० घन्टा नघट्ने गरी कार्यालय समय तोक्ने र साताको दुई दिन (शनिबार र आइतबार) बिदाको व्यवस्था हुनेछ’ राख्न माग गरेका हुन् ।

उनले दफा ११६ थप गरी कर्मचारीलाई विशेष बिदाको सुविधाको व्यवस्था गर्न समेत प्रस्ताव गरेका छन् । कर्मचारी सेवाअवधिमा अनुमति लिएर बढीमा १० वर्षसम्म अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्ने गरी बिदा दिने व्यवस्था गर्नुपर्ने संशोधन उनले राखेका छन् ।

उक्त विधेयकमा नेपाल सरकारका सचिवको कार्यकाल समेत घटाउने प्रस्ताव आएको छ । सचिवको अहिलेको कार्यकाल पाँच वर्ष हो ।

यसलाई घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरिएको हो । तर, उत्कृष्ट कार्यसम्पादन गर्ने सचिवको सेवाअवधि भने दुई वर्ष थपेर पाँच वर्ष नै कायम गर्ने प्रस्ताव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here