एनएमबी बैंकको वातावरणमैत्री अभियान, साईकलमा लगानीको नयाँ योजना

काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ ।

योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु रहेको र जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न र वातावरण संरक्षणमा मद्दत गर्न सकियोस् भन्ने रहेको बैंकले जनाएको छ ।

ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज् (जीएबीभी) को सदस्यका रूपमा बैंकले त्यसको ‘मानव, समृद्धि र पृथ्वी’को सिद्धान्तलाई आफ्ना गतिविधि र सिद्धान्तलाई केन्द्रमा राखेर मूल्यमा आधारित बैंकिङमा जोड दिँदै आएको बताएको छ ।

वातावरण दिवसको अवसरमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको नेट मिटरिङमा आधारित प्रशारण प्रणालीसँग आवद्ध ५० किलोवाटको छानामा राखिने सौर्य ऊर्जा प्रणाली (सोलार रुफटप)को उद्घाटन पनि गरिएको छ ।

सौर्य विद्युत् प्रणालीको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)का कार्यकारी निर्देशक मधुसूदन अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । एक महिनाको परीक्षणका अवधिमा सौर्य ऊर्जा प्रणालीले १० हजार युनिट विद्युत् उत्पादन गर्न सफल भएको बताईएको छ ।
बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मा १ सय बिरुवा रोपेको छ । बैंकका शाखाहरुले देशभरि नै स्थानीय निकायहरूसँगको सहकार्यमा वृक्षारोपण गरेका छन् ।

‘वातावरण संरक्षण विश्वव्यापी चिन्ताको विषय हो र सबै स्तरबाट ससाना प्रयासका माध्यमबाट नै भए पनि हामी वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्छौं ।’ बैंकले भनेको छ ।

यस्ता वातावरण संरक्षणका प्रयासहरू केबल एक दिनमा मात्र सीमित नभएर यसपछि पनि जारी राख्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here