बाँदरमुढेमा स्मृति उद्यान बन्दै, अर्थले दियो १२ करोडको योजनालाई स्वीकृति

चितवन, २३ जेठ । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५ सय मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए ।

उद्यान निर्माण गर्न १२ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार भइ अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । ‘बहुवर्षीय योजनाका लागि शहरी विकास मन्त्रालयमा पेश गरेका छौँ । आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ, यो नेपालकै लागि ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहन्छ,’ ढकालले भने ।

उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक, माडीको संस्कृति, वेषभूषा झल्कने संग्रहालय र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ । मृतकका पीडितले बनाएको पुरानो स्मारक पनि यथावत रहने ढकालले जानकारी दिए । ‘उद्यानले शान्ति प्रक्रियामा आइसकेपछि सो घटनालाई कसरी हेरिएको छ भन्ने सन्देश प्रवाह गर्छ । जसले गर्दा उद्यानमा ऐतिहासिक महत्व झल्किन्छ,’ उनले भने ।

राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । २०६२ जेठ २३ गते तत्कालीन माओबादी छापामारले राखेको शक्तिशाली एम्बुस पडकिएर बसमा सवार ४२ ले ज्यान गुमाएका थिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here