चाँदनी दोधारा आईसीपीको गुरुयोजना तयार, २०२५ सम्ममा तयार हुने

काठमाडौं, ७ बैशाख । कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा बोर्डले परियोजनाको गुरुयोजना तयार भइसकेको जानकारी दिएको छ । गत पुसदेखि थालिएको गुरुयोजना निर्माण हालै पूरा भएको हो । यो सँगै बोर्डले बन तथा वातावरण मन्त्रालयमा वातवरणीय प्रभाव अध्ययन (ईआईए)को पूर्वस्वीकृतिका लागि समेत आग्रह गरिसकेको छ ।

एक वर्षभित्रै आइसीडी र आईसीपीको विस्तृत परियोजना प्रतिवेदन र ईआईएको काम सक्ने र आर्थिक वर्ष २०७९।८० मा निर्माणको काम थालिसक्ने बोर्डका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए ।

सो परियोजना दुई चरणमा निर्माण गरिने बोर्डका इञ्जिनियर कमल जोशीले बताए । पहिलो चरमा करीब रु. ७ अर्ब लगानी गरी आईसीडी र आईसीपी तयार गरिने छ भने दोस्रो चरण्मा रेल्वे लाइन विस्तार तथा कार्गो व्यवस्थापनका लागि स्थान र गोदाम बनाइनेछ । दोस्रो चरणका लागि रु. १२ अर्ब ३७ करोडको लागत अनुमान गरिएको छ ।

यद्यपि दोस्रो चरणको निर्माणका लागि भारतले सीमासम्म रेल्वेलाइन विस्तार गर्नुपर्ने हुन्छ । त्यसैले दोस्रो चरणको निर्माणको मिति अहिले नै यकिन भइनसकेको बोर्डले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here