भारतमा बजेट निर्माण, १ महिनाभर अर्थ मन्त्रालयमा नाकाबन्दी

नयाँदिल्ली, २५ जेठ । भारतमा मोदी सरकारले बजेट निर्माणको काम गत सोमबारबाट शुरु गरेको छ । आगामी ५ जुलाईमा बजेट संसद समक्ष पेश हुनेछ ।
बजेट निर्माणको औपचारिक काम शुरु भएसँगै भारतीय अर्थ मन्त्रालयमा अब आम मानिस र संचारकर्मीले प्रवेश पाउने छैनन् । बजेट बनाउने टोलीलाई पनि बाहिरी मानिससँग सम्पर्क निषेध गरीएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा १ फेब्रुअरीमा बजेट ल्याउने प्रचलन छ । तर, चुनावी वर्ष भने अन्तरिम बजेट मात्र ल्याइन्छ । नयाँ सरकार आएपछि सोही सरकारले पूर्ण बजेट ल्याउने प्रचलन रहेको छ ।

नयाँ अर्थमन्त्री निर्मला सितारमणले अर्थ मन्त्रालय सम्हालेपछि पहिलो पटक बजेट निर्माणको काम शुरु भएको हो । अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने टोलीको नाम सार्वजनिक गर्दै उनीहरुले अबको १ महिना कसैसँग पनि सम्पर्क गर्न नपाउने स्पष्ट पारेको हो ।

बजेट निर्माण अवधिभर अर्थ मन्त्रालयमा सुरक्षाकर्मीले कडा सुरक्षा पदनेछन् । व्यापक सीसीक्यामरा जडान गरिएको छ भने अधिकांश कम्प्यूटरका इमेल ब्लक गरिएको छ । ताकि बजेटको कुनै पनि सूचना बाहिर नआओस ।

अहिले अर्थ मन्त्री सितारमणसँग सुस्त गतिमा रहेको अर्थतन्त्रलाई अगाडी बढाउने चूनौति रहेको छ । रोजगारी सिर्जना, निर्यातमा सुधार, तरलता अभाव, कृषिको उत्पादन वृद्धिजस्ता विषयले भारतीय अर्थतन्त्रलाई जहिले समस्या उत्पन्न गर्ने गर्छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here