लुम्बिनी प्रदेशमा शंकर पोखरेलकै नेतृत्वमा एमाले बहुमतको सरकार बनाउने

काठमाडौं, १९ बैशाख । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नै बहुमतको सरकार बनाउने निर्णय गरेको छ ।

आज आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । यसका साथै पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना समेत रहेको छ ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउने बाटो खोल्नकै लागि उनले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको भन्दै उनले अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई जना र जनता समाजवादी पार्टी (जसपा)का चार जना सांसद पदमुक्त भएकाले ८१ सदस्यीयमा सीमित छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेको मात्रै ४१ जना सांसद छन् । कायम सांसद संख्याको बहुमतका आधारमा नयाँ सरकार गठन गर्न पनि ४१ जना नै चाहिने स्थिति छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध एमाले, कांग्रेस र जसपाले वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमाथि आजै छलफल गरिँदै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here