उद्योग वाणिज्य महासंघले ल्यायो ‘हेल्लो डाक्टर’, कोभिड रिलिफको पहिलो कार्यक्रम

काठमाडौं, २५ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्देश्यले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।

अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा सनिबारबाट ‘हेल्लो डाक्टर’को शुभारम्भ भएको छ । थप अन्य कार्यक्रम ल्याउने तयारीमा महासंघ रहेको छ ।

‘हेल्लो डाक्टर’ कार्यक्रममा भाइवरको सहकार्य रहेको र डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने महासंघले बताएको छ ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य वैशाख २६ गते आइतवारबाट शुरु हुने छ । कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत सहयोग लिन सक्नेछन् ।

‘हेल्लो डाक्टर’मा भाइवरमार्फत कोभिड संक्रमित विरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा पाँच जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ, महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।

नाम दर्ता गर्न विरामीले २११११२११११ भाइवर नम्वरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसंगको परामर्शको समय विरामीलाई पठाइने छ ।

तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।

रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरुप यो कार्यक्रमको थालनी गरिएको हो । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसंग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित विरामीमा देखिने चिन्तालाई कमी गर्न र विरामीको आत्मबल बढाउन सहयोग पुग्ने दावी महासंघका अध्यक्ष शेखर गोल्छाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here