नेपालीमाथि यात्रा प्रतिबन्ध बढ्दो, ब्रुनाईपनि लगायो प्रवेशमा रोक

काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् ।

माल्दिभ्स, बंगलादेश, मलेसिया, सिंगापुर, जापान र कुवेत र बेलायतपछि ब्रुनाईले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ।

नेपालमा भारतीय भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै ब्रुनाईले सोमबारदेखि आफ्नो देशमा नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको हो।

ब्रुनाईको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालका साथै पाकिस्तान, बंगलादेश र श्रीलकाका नागरिकमाथि पनि प्रवेशमा रोक लगाईएको उल्लेख छ।

त्यस्तै माल्दिभ्सले नेपाली कामदारका लागि वर्क पर्मिट बन्द गरेको बताएको छ । नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत र पाकिस्तानका नागरिकलाई वर्क पर्मिट दिन बन्द गर्ने माल्दिभ्स सरकारको निर्णय आइतबारबाट कार्यान्वयनमा आएको छ ।

यसअघि भिसा पाएका विदेशी कामदार माल्दिभ्स प्रवेश गरेमा तोकिएका होटलहरुमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम माल्दिभ्सको छ । माल्दिभ्समा निर्माण मजदुरदेखि नेपालका चिकित्सकहरुले रोजगारी गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारी अन्त्य नभएपनि नियन्त्रण उन्मुख भएसँगै पछिल्ला महिना नेपालबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो क्रममा थियो ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् । तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।