प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदै

काठमाडौं, १० जेठ । संसद् विघटन गरेर निर्वाचनमा जाने कदमबिरुद्ध विपक्षी दलले आज रिट दायर गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटन बदर र देउवालाई बहुमतको समर्थन भएकोले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै विपक्षी दलका सबै सांसदहरुले रीट दायर गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका छन् ।

संसद पुनःस्थापना र संविधानको धारा ७६ (५) अनुसार पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।

शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भन्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म बहुमत जुटाई कुनै पनि प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी थिइन्।

जुन समयभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पत्र पेस गरेका थिए।

तर आफूसँग बहुमत नभएकै कारण विश्वासको मत नलिने घोषणा गरी एकैचोटि नयाँ सरकार गठनका लागि बाटो खुलाएका प्रधानमन्त्री आफैं १७५ सांसद मेरो समर्थनमा छन् भनेर सरकारको दाबी गर्न पुगेपछि राष्ट्रपतिले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गर्र्दै प्रतिनिधि सभा विघटन गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here