मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार, लागत डेढ अर्ब

नमूना तस्वीर

काठमाडौं, ११ जेठ । पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केबलकार निर्माणको काम शुरु भएको छ ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।

नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केबलकार निर्माण हुनेछ । आगामी एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी सोमवार रुख कटान शुरु गरिएको छ ।

उक्त केबलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन् । एउटा गोन्डोलामा आठ जना अट्छन् ।

केबलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केबलकारको मार्गमा पर्ने १ हजार ३८ वटा रुख कटान गर्नु पर्नेछ ।

जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ । अष्ट्रियाको गोपलमेर कम्पनीको केबलकार जडान गर्न लागिएको हो जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ ।

केबलकार सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने छ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको छ । स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने लक्ष्या राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here