काठमाडौँ, १२ जेठ । राम्रा नीति बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुलीको खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा सहभागीले कार्यान्वयन हुने गरी आगामी आर्थिक वर्षको बजेट तयार गर्न सरकारलाई सुझाव समेत दिए ।
कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड दिए ।
आन्तरिक रुपमा विजुली खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगमा बढावा दिनुपर्ने , घरायसी रुपमा खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्होको प्रयोग तथा उद्योग तथा व्यवसायमा सहज रुपमा बिजुली प्रयोग गर्न पाउने वातावरण बनाउनुपर्ने उनीहरुको भनाइ थियो ।
सरकारले केही नीतिगत सुधार गरेर प्रसारण प्रणालीमा सुधार गर्ने हो भने तत्कालै ५०० मेगावाट उद्योग प्रतिष्ठानले लिन सक्ने अवस्था छ । यस्तै, ब्लेड उद्योगलाई सहजीकरण गर्न सकिए तत्काल नै २०० मेगावाट खपत हुन सक्ने उनीहरुको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालयका सहसचिव मधुप्रसाद भेटवालले आन्तरिक रुपमा बिजुलीको माग बढ्न नसक्नुका तथ्य र कारणको खोजी गर्नुपर्ने बताए ।
झण्डै १७ हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेको भन्दै उनले वितरण प्रणालीलाई राम्रो बनाइएको खण्डमा खपत वृद्धि हुने धारणा राखे ।
यस्तै विद्युतीय सवारी साधनलाई बढावा दिँदै विशेष आर्थिक क्षेत्र घोषणा भएका स्थानमा सहजीकरण गर्दै उद्योगी व्यवसायीलाई थप केही राहत तथा अनुदान दिएर भएपनि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यस्तै सिमेन्ट कारखाना, स्टिल कारखानाले विजुली मागे पनि दिन नसकिएको अवस्थालाई मध्यनजर गरेर काम गर्न सकिएको खण्डमा तत्काल नै ५०० मेगावाटसम्म सहजै रुपमा माग बढ्न सक्ने उनको भनाइ छ ।
विद्युतीय सवारी साधनका लागि केही समय पहिले मात्रै ५० वटा चार्जिङ स्टेशनको काम समेत अगाडि बढेको र एलपी गयासको विस्थापनका लागि भने ठोस कार्ययोजना सहितको कार्यक्रम जरुरी रहेको बताए ।
बढी विद्युत् खपत गर्नेलाई कम महसुल लिने नीति जरुरी रहेको तथा बर्षाको समयको बिजुलीको पनि महसुल कम गर्ने गर्नुपर्ने सहसचिव भेटवालको भनाइ छ ।
उनले जलाशययुक्त आयोजनालाई ५० वर्ष, अर्धजलाशयुक्त आयोजनालाई ४० वर्षको अनुमति दिने प्रक्रियामा र अन्यलाई पनि सोही अनुसारको व्यवस्था गर्न लागिएको जानकारी दिए ।
विद्युत् नियमन आयोगका सदस्य डा रामप्रसाद धितालले मूल्य घटाएर मात्रै विजुलीको खपत बढ्छ भन्ने मान्यता राख्नुभन्दा पनि त्यसको विविधकरणमा जोड दिनुपर्ने धारणा राखे ।
उनले बर्षा र हिउँदको बिजुलीको महसुल दर फरक फरक बनाउनुपर्ने तथा यामअनुसारको वस्तुनिष्ट महसुल तय गरेर जानुपर्ने र त्यसको बारेमा आयोगले अध्ययन गरिरहेको बताए ।
उनले बिजुलीको उतपादन लागत घटाउन सकियो भने महसुलको मूल्य समेत घटन जाने भन्दै त्यसका लागि के के गर्न सकिन्छ भन्ने बारेमा साझा दृष्टिकोण बनाउनुपर्ने उल्लेख गरे ।
उनले अन्तरदेशीय बिजुली व्यापारका लागि केही नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै त्यसका लागि सरकारले स्पष्ट दिशानिर्देशन गर्नुपर्ने सुझाव दिए ।
उनले नोडल एजेन्सी तोक्नेदेखि खुल्ला र स्वतन्त्र रुपमा विद्युत् आदान प्रदान गर्ने संयन्त्र, त्यसको शुल्क तथा अन्य कानुनी प्रबन्धको बारेमा समेत आयोगका तर्फबाट पनि पहल भइरहेको जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मुलुकको समग्र ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरणको तर्फबाट गर्नुपर्ने सबै काममा सहजीकरण गर्न आफुहरु प्रयन्तशील रहेको बताए ।
उनले प्राधिकरणले आम उपभोक्ताको हित हेर्दै समन्वयात्मक रुपमा काम गरिरहेको र उदोगी व्यवसायीको मागलाई समेत सम्बोधन गर्न प्रयत्नशील रहेको बताए ।
उनले उद्योेगीलाई प्राधिकरणले उपलब्ध गराउने बिजुलमिा थोरै डिमाण्ड चार्ज बढाएर इनर्जी शुल्कमा केही छुट दिँदा मात्रै पनि माग बढ्ने अवस्था रहेको जानकारी दिए ।
कार्यकारी निर्देशक शाक्यले आन्तरिक रुपमा सिँचाइमा २५० गिगावाट घण्टा र विद्युतीय सवारीमा २५०० गिगावाट घण्टा बराबरको माग बढाउन सकिने अवस्था रहेको तथ्य पेश गरे ।
वितरण तथा प्रसारण प्रणालीलाई सुधार गर्न सकिएको खण्डमा आन्तरिक रुपमा समेत माग बढ्ने भन्दै त्यसका लागि प्राधिरकणले आन्तरिक रुपमा समेत तयारी गरिरहेको जानकारी दिए । उनले वस्तुनिष्ठ आधारमा बिजुलीको मागको प्रक्षेपण र बिजुलीको उपलब्धताका बारेमा विश्लेषण गर्नुपर्ने उल्लेख गरे ।
उनले प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि ‘ राइट अफ वे’ मा परेका जनतालाई शेयर दिने नीति बनाउन सकेको खण्डमा कुनै पनि समस्या नहुने स्पष्ट पारे ।
ऊर्जा क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानले बिजुलीको बजार जताततै विस्तारित भएको खण्डमा त्यसैको खोजीमा लाग्नुभन्दा उत्पादन बढाउने तर्फ विशेष ध्यान दिनुपर्ने बताए । उनले केही नीतिगत परिवर्तन, प्रसारण प्रणालीको विकास तथा विस्तार गर्ने हो भने तत्काल नै रु २५ अर्ब बराबरको आन्तरिक बजार स्वदेशमा नै तयार हुने बताए ।
भारत, बंगलादेश जस्ता मुलुकका लागि नेपालको ऊर्जा जरुरी रहेको भन्दै त्यसका लागि संयन्त्र खडा गर्ने र अत्यावश्यक काम गर्नुपर्नेमा जोड दिए । सुनखानी र पेट्रोल खानीले बजार खोज्नु नपरे जस्तै नेपालको ऊर्जाले बजार नपाइएला कि भन्ने चिन्ता गर्नुनपर्ने उनको जोड छ ।
उद्योग वाणिज्य महासंघको ऊर्जा समितिका सभापति गोपाल खनालले भौतिक पूर्वाधारको विकास र विस्तारमा जोड दिए मात्रै सरकारी तथा निजी क्षेत्रको पहल सार्थक हुने बताए । उनले राज्य, आम उपभोक्ता र व्यवसायीको हितका लागि साझा दृष्टिकोणसहितको कार्ययोजना जरुरी रहेको उल्लेख गरे ।
एउटा सरकारी निकायले भनेको कुरा अर्को निकायले नमान्ने अवस्थाको पनि अन्त्य गरिनुपर्ने र एकद्वार नीति मार्फत काम हुने वातावरण तयार पार्नुपर्नेमा स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था नेपाल९इपान०का अध्यक्ष कृष्ण आचार्यले जोड दिए ।
उनले निर्देशनमुखी सरकारी प्रशासनका कारण काम हुन नसकेको भन्दै प्रक्रियामा अल्झने कि काम पनि गर्ने भन्नेबारेमा स्पष्ट हुनुपर्ने उल्लेख गरे ।
उनले “ हामी आफै उत्पादक भएका कारण हामीले उतपादन गरेको बिजुली बिक्री गर्न पाउनुपर्छ भन्ने आफुहरुको माग रहेको छ । ”
उनले बिजुलीको उतपादन बढाउनका लागि क्यू ४० को प्रणाली हटाउनुपर्ने धारणा राखे ।
आगामी आवको बजेटले जग्गा प्राप्तिको समस्या, वन क्षेत्रको समस्या तथा अन्य प्रक्रियागत झन्झट हटाउनेतर्फ स्पष्ट व्यवस्था हुनुपर्ने माग राखे ।
सरकार राजश्व उठाउनेमा मात्रै केन्द्रीत हुँदा पनि समस्या पैदा भएको भन्दै अध्यक्ष आचार्यले नीति बनाउने भन्दा पनि भएकालाई कार्यान्वयन गर्न आग्रह गरे ।
व्यवसायी भरत खत्रीले व्यापारिक उद्योग तथा व्यवसायीलाई विद्युतको मूल्य असाध्यै महंगो भएको भन्दै त्यसलाई समसामयिक परिवर्तन गर्न आग्रह गरे ।
उनले बढी खपत गर्नेलाई कम महसुल लिने प्रणालीको व्यवस्था गर्न तथा प्रसारण तथा वितरण प्रणालीको सुधार गर्नुपर्ने उनको भनाइ थियो ।