चर्चित फुटबलर मेस्सीको जीवनशैलीः कति कमाउँछन् ? कस्तो घरमा बस्छन् ?

स्पेनी क्लब बार्सीलोनाबाट व्यावसायीक फुटबल खेल्दै आएका फरवार्ड लियोनल मेस्सीको खेल नहेर्ने मानिस कमै होलान् ।

विपक्षी खेलाडीलाई बल छुने मौका नै नदिई छक्काएर अगाडि बढाउँदै गोल गर्न माहिर यी खेलाडिको चामत्कारिक प्रदर्शनको कारणले नै बार्सीलोनाले बितेको एक दशकमा विभिन्न उपाधीहरु जित्न सफल भयो ।

अर्जेन्टिनामा जन्मिएका यी ३१ वर्षे चामत्कारिक खेलाडीलाई अर्जेन्टिनाकै विख्यात खेलाडि म्यारोडोनासँग पनि तुलना गरिन्छ ।

मेस्सीको पुरा नाम लुईस लियोनल मेस्सी हो । सन् १९८७ जुन २४ मा अर्जेन्टीनाको रोसारीयोमा जन्मिएका मेस्सीको बुबाको नाम जर्ज मेस्सी र आमाको नाम सेलीया मारीया हो ।

उनका दुई जना दाजु र एउटी बहिनी पनि छन् । सामान्य परिवारमा जन्मिएका मेस्सी सानैदेखि आर्थिक अभावबाट गुज्रिएका थिए ।

उनका पिता जर्ज शहर नजिकैको एउटा कारखानामा मजदुरी गर्थे । जर्ज पनि राम्रो फुटबल खेलाडी थिए र फुर्सदमा उनी घर नजिकैको क्लब ग्यान्डोलीमा खेलाडीहरुलाई प्रशिक्षण दिने गर्थे ।

मेस्सीले ५ वर्षको उमेरदेखि नै उक्त क्लबबाट फुटबल खेल्न थालिसकेका थिए । ९ वर्षको उमेरसम्ममा उनी राम्रो फुटवल खेलाडीको रुपमा चर्चित भइसकेका थिए । तर, अचानक ११ वर्षको उमेरमा उनलाई एकाएक हर्मोन डेफिसेन्सी नामक एक भयानक रोगको देखापर्यो ।

उक्त रोग लागेपछि शरीरमा हर्मोनको धेरै कमी हुने गर्दछ । यदि यस रोगको उपचार बेलैमा नगरेमा बच्चाको शारीरिक विकास नै रोकिन्छ तर, यसको उपचार धेरै नै महंगो हुन्छ ।

मेस्सीलाई यस्तो रोग लागिसकेपछि उनका आमाबुबाले सकेसम्म रकम जुटाएर उनको उपचार गर्न थाले । हरेक रात उनको खुट्टामा सुई लगाउन पथ्र्यो । यसले उनको परिवारमा आर्थिक संकट आइपर्यो ।

महंगो हुनाको साथसाथै यो उपचार अत्यन्त पिडादायी पनि थियो । तर, यस्तो अवस्थामा पनि मेस्सीले फुटवल खेल्न भने कहिल्यै छाडेनन् ।

उनी आफुलाई अझै निखार्नको लागि बिरामी भएको अवस्थामा पनि फुटवल खेलीरहे । यसै क्रममा मेस्सीको खेलबाट प्रभावित भएर उनको कुनै प्रसंशकले बार्सीलोना युथ एकेडेमीका खेल निर्देशक कस डिस्च्याकलाई मेस्सीको अद्भुत खेलको बारेमा सुनाए ।

त्यसपछि उनले मेस्सीको खेल हेरे र ११ वर्षिय फुच्चे बालक मेस्सीको खेलबाट अत्यन्तै प्रभावित भए । उनको उपचारखर्च महंगो भएको र फुटबल खेल्ने ठूलो सोख भएको थाहा पाएपछि उनले मेस्सीको परिवासंग एक सम्झौंता गरे ।

सम्झौतामा उनको सम्पुर्ण उपचार खर्च बार्सीलोनाले बेहोर्ने र ठिक भएपछि मेस्सीले बार्सीलोनाबाट फुटवल खेल्नुपर्ने भन्ने कुरा उल्लेख थियो ।

मेस्सी र उनको परिवार सहमत भएपछि सम्झौता भयो र उनको उपचार सुरु भयो । उपचारबाट ठिक भएपछि मेस्सीले १४ वर्षको उमेरदेखि स्पेनमा बार्सीलोनाबाट फुटबल खेल्न थाले ।

अहिले ५ फिट ७ ईन्च अग्ला मेस्सीको तौल ७२ केजी (१५९ पाउन्ड) छ ।

कति कमाउँछन् ?

अर्जेन्टीनाको राष्ट्रिय टिम र बार्सीलोनामा स्ट्राईकरको रुपमा खेल्ने मेस्सी लेफ्ट फुुटेड फर्वाड हुन् । धेरै प्रशंसकले उनको देब्रे खुट्टामा जादुयी शक्ति रहेको विश्वास गर्छन् किनभने उनले अधिकांश देब्रे खुट्टाले नै गोल गर्छन् ।

सन् २००४ मा पहिलो पटक बार्सीलोनाको सिनियर टिममा परेका उनले बार्सीलोनाको लागि मात्रै ६०० भन्दा बढी गोल गरिसकेका छन् ।

पाँचपटक फिफाको सर्वोत्कृष्ट खेलाडीको अवार्ड बालोन डियोर जितिसकेका उनले क्लबबाट जित्न सकिनेजति सबै उपाधि जितिसकेका छन् । तर, अर्जेन्टिनालाई विश्वकप वा कोपा अमेरिका जस्ता प्रमुख प्रतियोगिता जिताउने उनको सपना भने अझै पुरा भएको छैन् ।

यस सिजन पनि उनलाई बालोन डियोरको मुख्य दावेदारको रुपमा हेरिएको छ । मेस्सी फुटबल खेलेरै सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी समेत हुन् । उनले बार्सीलोनाबाट प्रतिसाता ५ लाख पाउण्ड पारिश्रमिक बुझ्ने गर्छन् ।

उनले विभिन्न व्यावसायीक उत्पादनहरुको विज्ञापनबाट पनि मोटो रकम कमाउने गर्छन् ।

बार्सीलोनाको लागि सन् २०२१ सम्मको अनुबन्धित भइसकेका उनी अरु क्लबमा गएर खेल्न चाहँदैनन् । बार्सीलोनाले यदि अन्य कुनै क्लबले मेस्सीलाई आफ्नो क्लवमा अनुबन्घ गर्न चाहेमा ८ सय ५४ मिलियन डलरको तिर्नुपर्ने बाइ आउट क्लज राखेको छ ।

उनको सम्पत्ति करीब ४०० मिलियन डलर रहेको छ । उनी महंगा र विलासी कारहरुको सौखिन पनि हुन् ।

यस्तो छ जीवनशैली

मेस्सी कारका साैखिन हुन् । उनी सँग १० वटा भन्दा बढी महंगा कारहरु छन् । जसमा फरारी, रेन्जरोभर, मासेराटी, अउडी, पगानी, टोयोटा प्युरियस जस्ता ब्राण्डका कारहरु रहेका छन् । साथै उनको निजी जेट विमान पनि छ ।

उनको स्पेनमा र एउटा अर्जेन्टिनामा एउटा गरी २ वटा घर रहेका छन् । बार्सीलोनाको क्यास्टेडेफेल्समा रहेको उनको घर विभिन्न विलासी सुविधाले भरिपूर्ण रहेको छ । उनले सन् २००९ मा एक पुरानो बंगलालाई किनेर त्यसलाई आफ्नै तरिकाले रेनोभेट गरेका थिए ।

त्यसको लागि उनले ठूलो धनराशी खर्चिएको बताइएको छ । उनको घरमा मेडिटेरियन थिम अनुसार सजावट गरिएको छ र खैरो रंगले प्रधानता पाएको छ ।

त्यस्तै उनको घर नजिकैका छिमेकीहरुले धेरै होहल्ला गर्ने गरेको र उनले शान्त रहन आग्रह गर्दा पनि नटेरेपछि उनले आफ्नो घरसँगै जोडिएका दुईवटा घर पनि किनेको बताइन्छ ।

उक्त भव्य बंगलामा मिनि फुटबल ग्राउण्ड, स्विमिङपुल र आउटडोर डाइनिङ स्पेस पनि रहेको छ ।

उनी कुकुर प्रेमी पनि हुन् । उनले घरमा तीनवटा कुकुरहरु पालेका छन् । उनको प्रिय भने डग डे बोरडक्स प्रजातीको हल्क नामको कुकुर हो जुन धेरै ठूलो छ ।

उनलाई सन् २०१६ मा प्रेमिका एन्टोनेलाले खैरो रंगको हल्क उपहारको रुपमा दिएकी थिइन् ।

उनलाई खानामा चिकेन फ्राइड स्टेक र मिलानेसा नेपोलिटन फ्राइ मन पर्छ ।

केहि वर्ष अघि उनले फुटबल आकारको घर बनाएको भनेर पनि माथिबाट हेर्दा फुटबल आकारको घरको तस्वीर सहित समाचारहरु आएका थिए । तर, ती समाचार सत्य नभएको उनले बताएका थिए ।

अर्जेन्टिनाको रोसारियोमा पनि उनको घर रहेको छ जुन निक्कै नै सामान्य छ । उनको बाल्यकाल त्यहि घरमा बितेको थियो ।

श्रीमती र छोराहरु

एनको विवाह सन् २०१७ को जुुन ३० बाल्यकाल देखिकै साथी एन्टोेनेला रोक्सुजो सँग विवाह भयो । अर्जेन्टिनाको रोसारियो मै हुँदा ५ वर्षको हुदा उनको एन्टोनेला सँग परिचय भएको थियो । एन्टोनेला व्यावसायीक मोडल हुन् ।

मेस्सी दम्पतीका ३ छोराहरु रहेका छन् । मेस्सी र एन्टोनेलाको पहिलो सन्तानको रुपमा थियागो मेस्सीको जन्म सन् २०१२ नोभेम्बरमा भयो । त्यस्तै दोस्रो सन्तानको रुपमा एन्टोनेलाले सन् २०१५ सेम्टेम्बरमा अर्को छोरा माटेयो मेस्सीलाई जन्म दिईन् ।

मेस्सीको तेस्रो छोरा सिरो मेस्सीको जन्म भने सन् २०१८ मार्चमा भएको हो । उनीहरु सबै बार्सीलोनामा बस्ने गर्छन् ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here