साझा पार्टीले भन्याे- राजनीतिक भागबन्डाकाे उद्देश्यले लाेकसेवाकाे विज्ञापन रद्द

काठमाडाैं, २८ जेठ । साझा विवेकशिल पार्टीले लोकसेवा आयोगले स्थानिय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन रद्द गर्न संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिले दिएकाे निर्देशनकाे विराेध गरेकाे छ ।

पार्टीले मंगलबार एक विज्ञप्ती जारी गरी समितिकाे निर्णय र निर्देशन प्रति गंभिर ध्यानाकर्षण भएको बताएकाे हाे ।

‘लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवस्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ’, विज्ञप्तीमा पार्टीले भनेकाे छ, ‘तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो।’

प्रवक्ता डा. सूर्यराज आचार्य द्वाराजारी विज्ञप्तीमा पार्टीले राजनीतिक भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरी राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु नहुने धारणा पनि व्यक्त गरेकाे छ ।

योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रुपमा लोकसेवा आयोगको विश्वसनीयता आम जनतामा अझै कायम भएकाे भन्दै पार्टीले राजनीतिक स्वार्थका लागि लोकसेवा आयोगको विश्वसनीयता र स्वायत्तामा आँच आउने काम कसैले पनि गर्न नहुने बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here