काठमाडौं, २३ जेठ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।
विभिन्न व्यक्तिहरुका लागि आइतबार २१ दिने सूचना सार्वजनिक गर्दै ‘सरकारको नाममा कायम गर्न नपर्ने कारण खुलाउन’ सूचना जारी गरेको हो ।
ती जग्गाहरु सरकारले आफ्नो नाममा कायम गर्न लागेको जानकारी दिइएको छ।
यदि कसैलाई त्यो जग्गा सरकारको होइन आफ्नै हो भन्ने लाग्छ भने कार्यालयलाई २१ दिनभित्र सूचित गरिसक्नु पर्ने छ। नभए स्वतः जग्गा सरकारले आफ्नो नाममा पार्ने चेतावनी दिइएको छ।
सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ । उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ ।
ललिता निवास जग्गा प्रकरणमा अहिलेका बहालवाला मन्त्री, पूर्वप्रधानमन्त्री, सर्वोच्चका न्यायाधीश, व्यवसायी, अख्तियारका पूर्व प्रमुखलगायत धेरै जना सरकारी कर्मचारी मुछिएका छन्।





















