रूपन्देहीमा थारू हाेमस्टे सञ्चालन हुँदै, के के छन् आकर्षण ?

रूपन्देही, २९ जेठ । रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिए ।

विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४ लाख, संसद् विकास कोषबाट रु २० लाख र सैनामैना नगरपालिकाबाट रु पाँच लाख घरवास निर्माणका लागि खर्च भएको बताइएको छ । यस वर्ष पनि सैनामैना नगरपालिकाले रु १० बजेट विनियोजन गरेको छ ।

लुम्बिनी क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सैनामैनामा भित्र्याएर पर्यटकीय आकर्षण बढाउन र त्यसबाट लाभ लिने उद्देश्यले घरवास कार्यक्रम ल्याउन खोजिएको स्थानीयले बताएका छन् । यहाँ आउने पर्यटकलाई सैनामैनाका बोलबम धाम, पूरातात्विक रानीकुवा, बडकुवा, कोटहीमाई, राजापानी, ऐतिहासिक मलमला क्षेत्र, सैनामैना–५ बक्सडमा बन्न लागेको थारू सङ्ग्रहालयलगायतका पर्यटकीयस्थलमा भ्रमण गराउने विश्वास गरिएको छ ।

के के छन् आकर्षण ?

थारू घरवासमा विभिन्न कार्यक्रम लिएर आउने पाहुनालाई थारू कलाकारले आफ्नो संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम देखाउनुका साथै थारू जातिले खाने ढिकरी, पकौडा, घोंगीलगायतका परिकारसमेत खुवाउँछन् ।

यी परिकार बनाउने कालीगडलाई ‘कुक’ तथा ‘हाउस किपिङ’बारे तालीम पनि दिइएको छ । “हामी घरवास सञ्चालन भएपछि स्थानीय उत्पादनलाई बढवा दिएर विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गर्छौं”, अध्यक्ष चौधरीले भने ।

उनले घरवासबाट पाहुनालाई लुम्बिनीलगायतका क्षेत्रमा भ्रमण गराउने र थारू संस्कृतिबारे जानकारी दिने लक्ष्यसमेत भएको उल्लेख गर्दै सैनामैनाको सामरिक महत्वको स्थानको पनि प्रचारप्रसार हुने बताए । यो घरवासबाट करीब ४० घर परिवार लाभान्वित हुने छन् । घरवास सञ्चालन भएपछि आर्थिक कारोवार बढ्ने र त्यसले समृद्धि हासिल हुने विश्वास रहेको बताइएको छ ।

स्थानीय सुजनी थारूले आफ्नै बारीमा उत्पादन भएको तरकारी पाहुनालाई खुवाइने उल्लेख गर्दै थारू महिलामा भएको सीप र क्षमताको प्रयोगबाट जीविकोपार्जन हुने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here