लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? कस्ता पक्षलाई विशेष ध्यान दिने

काठमाडौं । पछिल्लो समय नेपाली शेयर बजारमा लागानी गर्नेको संख्या बढ्दै गएको छ ।

शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या उल्लेख्य हुँदा सही समयमा सही निर्णय गर्न नसक्ने लगानीकर्ताको संख्या पनि उतिकै रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ ।

पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ ।

लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ । पछिल्ला दिनमा धितोपत्र बजारमा सेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुन बोर्डले आग्रह गरेको छ ।

बजार बुलिस टेन्ड्रतर्फ उन्मुख हुदा प्रायः लगानीकर्ता अझै नाफा कमाइन्छ भनेर छिर्ने गर्छन् । जुन स्वाभाविक पनि हो । तर आफूले लगानी गरेको शेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ ।

थोरै बढी कमाउने लोभमा परेर नाफा भइसकेको कुनै शेयर च्यापेर राख्नु वा सो शेयरप्रतिको आशक्ति राख्नु गलत निर्णय हुन सक्छ ।

हरेक लगानीकर्ताहरूले आफ्नो लगानीबाट निश्चित प्रतिफलको अपेक्षा गरेको हुन्छन् । तर प्रतिफल र जोखिम एक अर्कासँग अन्तरसम्वन्धित हुने भएकोले लगानीकर्ताले विशेष सर्तकता अपनाउनु पर्दछ ।

जोखिमलाई न्यूनीकरण गर्दै प्रतिफललाई सुनिश्चितता प्रदान गर्नु एक चुनौतीपूर्ण कार्य हो । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको लागि सजग बनाउनको लागि समय समयमा विभिन्न प्रकारका मार्ग निर्देशनहरू जारी गरेको हुन्छ ।

निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति, (नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरूको विश्लेषण गरेर मात्र लगानी सम्वन्धी निर्णय गर्नुपर्दछ ।

यस्तो अवस्थामा शेयर बजारको विवेकशील लगानीकर्ता कसरी बन्ने त ? यस्तो छन् जान्नै पर्ने टिप्स

-सकेसम्म लामो समय अर्थात दीर्घकालीन लगानी गर्ने । छोटो समयका लागि गरिएको लगानी बढी जोखिमयुक्त हुन सक्छ । लगानी जति बढी समयको लागि गर्यो जोखिम व्यवस्थापन गर्न पनि त्यति नै सहज हुन्छ ।

-धितोपत्र खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाडँफाँट, फिर्ता भुक्तानी, प्रमाण–पत्र प्राप्ति तथा सूचीकरण सम्वन्धमा सजग रहनुपर्दछ ।

-धितोपत्रको दोस्रो बजार मार्फत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि सार्वजनिक निष्काशन गरिएको धितोपत्र नेपाल स्टक एक्सचेन्ज लि. मा धितोपत्र सूचीकरण गरिन्छ ।

-धितोपत्रको निष्काशन मुल्यले सूचीकरण पश्चात् धितोपत्र विनिमय बजारमा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुपर्दछ ।

-सकेसम्म न्यून मूल्य–आम्दानी अनुपात (पीई रेसियो) भएका शेयरलाई प्राथमिकता दिने । यस्तो प्राथमिकताले शेयरको वर्तमान मूल्य भन्दा भविष्यको सम्भावनालाई बढी जोड दिन्छ । जसबाट न्यूनतम लगानीमा बढी प्रतिफल आउने सम्भावना हुन्छ ।

-शेयरमा लगानी गर्दा छोटो समयमा हुने मूल्य प्रवृत्ति भन्दा लामो समयमा हुने मूल्य प्रवृत्तिलाई बढी जोड दिने ।

-अर्थतन्त्रमा तरलताको अवस्था, देशको राजनीतिक अवस्था तथा सरकारको स्थिरता सम्बन्धमा सधैं सचेत भई लगानी गर्ने ।

-आफ्नो लगानी सकेसम्म विविधीकरण गर्ने, शेयर खरिद तथा बिक्रीको उपयुक्त समय पत्ता लगाउने र सोही अनुसार योजना बनाउने गर्नुपर्छ।

-लगानी गर्दा अपेक्षित प्रतिफल अनुमान गर्न सक्नुपर्छ । यसरी अपेक्षा वा अनुमान गरिएको प्रतिफल प्राप्त हुने बित्तिकै सेयर बिक्री गर्ने, असीमित प्रतिफलको अपेक्षा नगर्ने । प्रतिशेयर आम्दानी, रिजर्भ, नाफा, भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई पनि याद गर्नुपर्छ ।

-शेयर बजारमा आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धी आवश्यक ज्ञान प्राप्त गर्नुपर्छ । सोही अनुसार बजारमा रणनीति तय गर्नुपर्छ ।

-शेयर बजार तथा यसलाई प्रभाव पार्ने विषय र क्षेत्र सम्बन्धित ऐन नियमका बारेमा ख्याल गर्नुपर्छ । ती ऐन नियममा लगानीकर्ताको हकहित सम्बन्धमा भएको व्यवस्थाहरु तथा लगानीकर्ताको प्रतिफल सम्बन्धी सूचीकृत कम्पनीहरुको निर्णयको सम्बन्धमा सुसूचित भई लगानी गर्नुपर्छ ।

-सुसूचित, संयमित तथा विवेकशील भई जोखिम वहन गर्ने क्षमता अनुसार लगानी गर्ने ।

-दोस्रो बजारमा लगानी गर्दा सम्बन्धित कम्पनीको लाभांश घोषणा, हकप्रद शेयर घोषणा, कम्पनी व्यवस्थापनमा परिवर्तन लगायतका महत्वपूर्ण पक्षमा ख्याल गर्ने । कम्पनी प्रबद्र्धक तथा व्यवस्थापनको व्यावसायिक इमानदारिता, भावी योजनाहरु, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण विषयहरुको अध्ययन गर्ने गर्नुपर्छ।

– सार्वजनिक रुपमा निष्कासन गरिने शेयरमा लगानी गर्दा धितोपत्र निष्कासनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति, लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङको स्तर जस्ता महत्वपूर्ण पक्षहरुको पनि अध्ययन तथा विश्लेषण गर्नुपर्छ ।

-सूचीकरण खारेजी भएका तथा सूचीकरण नभएका पब्लिक लिमिटेड कम्पनीका धितोपत्रहरु, ओटीसी बजारबाट कारोबार गर्न सकिने सम्बन्धमा जानकारी राख्ने ।

-सूचीकृत कम्पनीको वित्तीय विवरण, सञ्चालक तथा व्यवस्थापन पक्ष, कम्पनीको भावी योजना लगायतमा ध्यान दिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here