उपत्यकामा खानेपानी वितरणको तालिका हेरफेर (तालिकासहित)

काठमाडौं, ३१ जेठ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण असार १ बाट दुई महिनासम्म बन्द हुने भएको छ।

मेलम्चीको सुरुङमार्ग निरीक्षणका लागि ६० दिन पानी वितरण बन्द गर्न लागिएको हो। यस अवधिभर पुरानै स्रोतबाट मात्र काठमाडौंबासीले पानी पाउनेछन्, ।

सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ।

उक्त अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी केयूकेएलले खानेपानी वितरणको तालिका परिवर्तन गरेको जनाएको छ ।

नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्रले अब २ दिनदेखि १२ दिनसम्म बिराएर खानेपानी वितरण गर्नेछ। ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै वागमती नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले असारबाट नदी किनारमा नजान र काम विशेषले जानुपर्ने भएमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

निरीक्षणका क्रममा कुनै समस्या देखिए मर्मतसम्भार गरिने छ। नदेखिए पुन: पानी हालिनेछ। फागुन १० बाट सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो। त्यसको १२ दिनपछि फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो। पानी चैत १५ गतेबाट वितरण सुरु गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here