लगानीकर्ता आत्तिएपछि रोकिएन शेयर बजारको पहिरो

काठमाडौं, ७ असार । शेयर बजारमा पहिरो गएको छ । गत बुधबारदेखि ओरालो लागेको बजारमा निरन्तर पहिरो जानेक्रम आजपनि जारी रहेको हो ।

नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा भारी गिरावट आएको हो ।

साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा झरेको छ । आइतबारपनि नेप्से ६३.११ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७३ रुपैयाँ बराबरको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर किनबेच भएका छन् । लगातार बजार घट्न थालेपछि लगानीकर्ता हतोत्साहित हुँदा कारोबारमा प्रत्यक्ष असर परेको हो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ५/५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । भने युनियन, हिमाल दोलखा हाइड्रो पावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइको शेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, घलेम्दी र जोशी हाइड्रोपावरका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here