दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं, ८ असार । मंगलबार बसेको बोर्डको ४७ औँ बैठकले ९७ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ ।

तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।

तमोर २८५ मेगावाट क्षमताको परियोजना हो, जसको अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको छ भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो।

त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट)को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानून सुधार गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ।

बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्ग अन्तर्गत छ्याङ्कुटी-दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रकृया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि,’२०७८’ स्वीकृत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here