सरकार–निजी क्षेत्र मिलेर अघि बढे मात्र समृद्धिको राष्ट्रिय आकाँक्षा पूरा हुन्छः राष्ट्रपति भण्डारी

काठमाडौं, ३१ जेठ । सरकार र निजी क्षेत्र मिलेर अघि बढे मात्र राष्ट्रिय समृद्धिको आकाँक्षा पूरा हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

राष्ट्रपति निवासमा नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक भएको कारण मिलेर अगाडी बढ्नु आवश्यक रहेको राष्ट्रपतिले बताईन् ।

उत्पादन बढाएर आर्थिक विकासलाई तिव्र पार्न उद्यमी व्यवसायीहरुसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाईन् ।

बेरोजगारीको विकराल समस्या हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्थाको अन्त्यका लागि स्वदेशमै रोजगारी सृजना गर्न सरकारले थालेका प्रयासलाई सघाउन पनि राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरेकी थिईन् ।

चुलिएको व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी कच्चा पदार्थको उपयोगमा जोड दिनु पर्ने बताईन् ।

पुर्वधार विकास र औद्योगिकीकरणमा सरकारले नीजि क्षेत्रसँग मिलेर काम गर्ने र त्यसमा देखिने समस्या समाधानमा सकारात्मक भूमिका निभाउन आफु सदैव तयार रहेको पनि राष्ट्रपतिले आश्वस्त पारेकी थिईन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था, नेपाल उद्योग परिसंघले निजी क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक, उद्योग, लगानी विस्तार, निकासी प्रवद्र्धन, रोजगारी श्रृजना, पूर्वाधार विकास आदिको क्षेत्रमा सरकारसँग विभिन्न कार्यक्रमको माध्येमबाट निरन्तर सहकार्य गरी रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेटमा गरिएको उत्पादनमुलक क्षेत्रमा गरिएको व्यवस्था, ऐन कानुनको सुधारमा सरकारले लिएको पहल, राष्ट्रिय महत्वका आयोजनामा सरकारले तोकेको प्राथमिकता जस्ता प्रावधानहरुबाट निजी क्षेत्र उत्साहित रहेको कार्यक्रममा बताएका थिए ।

उद्योग–व्यवसाय विस्तार र पूर्वाधार विकासको क्षेत्र लगायत कतिपय क्षेत्रमा अझ पनि प्रक्रियागत समस्याहरु विद्यमान रहेको र समाधानका लागि सरकार र निजी क्षेत्र मिलेर जाँदा त्यसको समाधान हुने परिसंघका अध्यक्ष मोरले बताएका थिए ।

आर्थिक समृद्धिका साझेदारको रुपमा रहेको निजी क्षेत्रले उठाएका विषयमा सरकारको ध्यानकर्षण गराउन राष्ट्रको अभिभावकको रुपमा राष्ट्रपतिबाट सकारात्मक पहल हुने विश्वास परिसंघले लिएको पनि अध्यक्ष मोरले बताए ।

कार्यक्रममा परिसंघमा आवद्ध उद्योगी व्यवसायीहरुले आ–आफ्ना क्षेत्रगत उद्योग तथा लगानीको अवस्थाबारे राष्ट्रपतिसँग अन्तरक्रिया गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here