काठमाडौं, १५ असार । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसारपसारका लागि सम्झौता भएको छ ।
निगमको महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतासँगै अब अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार निगमका जहाजले गर्नेछ । यसअघि थाई एयरले यो कामको जिम्मा पाएको थियो ।
नयाँ सम्झौता अनुसार सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुने भएका हुन् ।
नयाँ सम्झौताले विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।