आइतबारदेखि श्रम स्वीकृति नियमितरूपमा, अनलाइनबाट दिने व्यवस्था कायमै

काठमाडौं, १७ असार । वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि नियमितरूपमा श्रम स्वीकृति दिने भएको छ ।

कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेकोेमा आइतबारदेखि भने सार्वजनिक बिदा वाहेक सबैदिन श्रम स्वीकृति दिन लागेको हो ।

नेपालमा कोरोना भाइरसको दोश्रो लहर रोक्न काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि उक्त कार्यालयले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य गत वैशाख २४ गतेदेखि स्थगित गरेको थियो ।

तर व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।

बायोमेट्रिक नभएका र व्यक्ति स्वयं उपस्थित हुनैपर्नेबाहेक अन्य व्यक्तिहरूलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध पनि गरेको छ ।

यसरी दिनुहोस् पुनः श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन । ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here